Logo

विपना थापाः ‘अनमोल सुपरस्टार होइन’, यस्ता छन् बिहेअघि र बिहेपछिका अनुभवहरू


एक समय फिल्ममा निकै व्यस्त थिइन्, विपना थापा । करिब १० वर्षयता वैवाहिक बन्धनमा बाँधिएपछि उनी अभिनयको दुनियाँबाट टाढा छिन् । सायद अहिलेको नयाँ पुस्ताले उनलाई बिर्सि नै सक्यो ! श्रीमान्सँग भारत बस्दै आइरहेकी उनी केही सातायता मिडियामा एकाएक छाइन् । कारण के रहेछ ? उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

कति भयो नेपाल आउनुभएको ?
एक महिनाजति भयो । छोराको समर भ्याकेसन मनाउन आएकी हुँ । अब १५ दिन बसेर फर्किन्छु ।

लामो समयपछि एकाएक मिडियामा छाउनुभयो । यसले दिन खाजेको संकेत के हो ?
म वर्षमा दुई–तीनपल्ट नेपाल आइरहन्छु तर मिडियालाई म आएको थाहा हुँदैनथ्यो । यसपल्ट एकजना पुराना संचारकर्मी मित्रले फेसबुकमा फोटो राखिदिनुभएछ । त्यसपछि थुप्रै अनलाइन मिडियाले सम्पर्क गरेर इन्टरभ्यु लिएका हुन् । जे होस् अहिले पनि मलाई माया गर्ने संचारकर्मी र दर्शक रहेछन् भन्ने महसुस भएको छ । सबैको चाहना म कमब्याक गरुँ भन्ने नै पाएँ ।

तपाईंले अभिनयबाट विश्राम लिँदा फिल्मको संख्या १ सय ११ पुगेको रहेछ । १ मै पुगेर टुंगिनुको खास कारण छ कि संयोग हो ?
ए, हो त है ! कस्तो मिलेको ! तर यस्तो संयोगले नै भएको हो । सायद यसले विपनाको करिअरमा फुलस्टप भा’को छैन भन्ने संकेत पनि दिएको हुनसक्छ ।

तपाईंसँगै काम गरेका अभिनेताहरु राजेश हमाल, दिलिप रायमाझी, रमेश उप्रेतीहरु फिल्म इन्डस्ट्रीमै छन् । हिरोइनका मामिलामा दृश्य अलि फरक छ । तपाई र तपाईंसँगै आएका निरुता सिंह, जल शाहहरु अहिले फिल्म क्षेत्रको पाहुना हुनुभएको छ । सधैँ हिरोइन नै किन हराउँछन् ?
जहाँसम्म मेरो कुरा छ, मैले बिहे गरेपछि विश्राम लिएकी हुँ । पाँच वर्ष जति केही पनि काम नगरी बस्ने मेरो योजनै थियो । एउटा परिवार छाडेर अर्को परिवार सम्हाल्न पुग्दा महिलामाथि धेरै दायित्व थपिने रहेछ । बिहे गरेँ, त्यसपछि आमा बनेँ । आमा बनेपछि बच्चा छाडेर फिल्म इन्डस्ट्रीमा आउने अवस्था थिएन । आएको भए यही इन्डस्ट्रीमा मलाई धेरैले कुरा काट्थे, ‘विपना सानो बच्चा छाडेर फेरि नाच्न आई ।’ यस्तै भाषा प्रयोग हुन्थ्यो तर दर्शकले अहिले मलाई सम्मान गर्छन् । त्यसमै खुसी लाग्छ । आखिर म बनेकै एक्टिङको लागि हो, ढिलोचाँडो अभिनयमा फर्किन्छु नै । त्यस्तै जल शाहले पनि बिहेपछि नै अभिनयबाट विश्राम लिएको हो । बिहे गरेपछि हामी अभिनेत्री मात्र रहँदैनौँ, कसैकी श्रीमती, कसैकी बुहारी पनि हुन्छ । त्योभन्दा गर्वको कुरा हामी आमा पनि हुन्छौँ । सायद यस्तै जिम्मेवारीहरुले गर्दा अभिनेत्रीहरुलाई अभिनयमा फर्कन समय लाग्छ । जहाँसम्म निरुता सिंहको कुरा छ, उसले बिहे गरेपछि छाडेको होइन । पक्कै यो क्षेत्रमा भविष्य नदेखेर छाडेको हुनसक्छ ।

बिहे गरेपछि १० वर्षसम्म फिल्म क्षेत्रबाट हराउँछु भन्ने लागेको थियो ?
५ वर्षसम्म त योजनामा नै थियो तर १० वर्षसम्म हराउँछु भन्ने लागेको थिएन । मैले कुनैबेला ३६ घण्टा आँखा नचिम्ली फिल्ममा काम गरेकी थिए । काम धेरै गरेकै कारण बालाजुको बाइसधारामा सुटिङ स्पटमै बेहोस भएर लडेकी थिएँ । मेरो पालामा सबैभन्दा बढी व्यस्त हुने हिरोइनमा म पर्थें । त्यसैले बिहेपछि म ५ वर्ष आराम गर्ने योजनामा थिएँ । समय परिस्थितिले गर्दा अलि टाढा भएँ, चाँडै ब्याक हुन सकिनँ तर अब हुन्छु । आमा भएर छोराको जिम्मेवारी निर्वाह गर्दागर्दै फर्कन नसकेको हो । छोरा पनि अब त नौ वर्षको भइसक्यो । अब फर्कने योजना छ ।

तपाईंजस्तो व्यस्त अभिनेत्रीलाई अचानक अभिनयको दुनियाँबाट टाढा हुन त्यतिबेला कत्ति सहज थियो ?
त्यसै भनिएको होइन रहेछ– प्रेम अन्धो हुन्छ । बिहे गरेपछि म नयाँ परिवारको प्रेममै भुलिएँ । सासु, श्रीमान्को त्यो अनलिमिटेड प्रेमले मलाई इन्डस्ट्रीमा फर्किनुपर्छ भन्ने फिल नै गराएन ।

त्यसोभए यो १० वर्षमा तपाईंले सुटिङ सेटलाई कहिल्यै मिस गर्नुभएन त ?
किन नगर्नु ? भयंकर मिस गरेँ । म फेरि पनि भन्छु, मेरो जन्म अभिनय गर्नको लागि नै भएको हो । जब म कसैको मुभीमा युट्युबमा हेर्थें, मलाई सुटिङ स्पट मिस गर्थें । जब नेपाली अवार्ड सेरोमोनीको भिडियो देख्थेँ, मन थाम्नै गाह्रो हुन्थ्यो । म किन त्यहाँ भइनँ होला भन्ने महसुस हुन्थ्यो । ‘हे विपना, अहिले नै उडेर त्यहाँ जा’जस्तो महसुस हुन्थ्यो । त्यो सुटिङ, त्यो फिल्मी माहोललाई मैले बिर्सने सक्ने कुरै छैन ।

अब सधैँ मिस गरेरै बस्ने हो ?
होइन । बाबु (छोरा) अलिकति ठूलो भयोे । साथीभाइले अब त फर्किनुपर्छ भनेर गाली पनि गर्न थाले । अब चाँडै फर्किन्छु ।

अझै कति टाइम लाग्ला ?
धेरैमा एक वर्षभित्रै फर्किने योजना छ ।

फिल्म साइन नै गरिसक्नु भयो कि क्या हो ?
छैन । कुराहरु भइरहेका छन् । अब चाँडै हुन्छ ।

कमब्याक कस्तो हुन्छ त ?
सरप्राइजिङ हुन्छ ।

कस्तो सरप्राइज ?
सरप्राइज त सरप्राइज नै हो । अहिले नै नभनौं । (हाँस्दै)

श्रीमानको परिवारबाट फिल्म खेल्न पूरा समर्थन छ त ?
पूरै छ । नत्र त म यसरी इन्टरभ्यू दिँदै कहाँ हिँड्थे त ? झन् मेरी सासूलाई त मैले फिल्म खेलेको, मेरो सुटिङ हेर्ने पूरा रहर थियो तर हेर्न नपाई बित्नुभयो । झन् श्रीमान् (डा. आशुतोष भारद्वाज) त नेपाल मेडिकल कलेजबाटै एमबिबिएस गरेको मान्छे । ८–९ वर्ष यहीँ बसेको । ‘वरमाला’ फिल्ममा लगानी पनि गर्नुभएको थियो । त्यसैले धेरथोर फिल्म लाइन बुझ्नुभएको छ । त्यसैले समर्थन गर्नुहुन्छ ।

अहिले के गर्नुहुन्छ श्रीमान ?
भारतको मथुरामा हाम्रो आफ्नै सानो हस्पिटल छ – वरदान हस्पिटल । त्यहीँ काम गर्नुहुन्छ ।

छोरालाई आफूले अभिनय गरेको फिल्म देखाउनुभयो ?
हेर्छ कहिलेकाँही । ‘एक्ट्रिस थी क्या ?’ भनेर सोध्छ । फिल्म हेरेर हाँस्छ ।

फेरि फिल्मतिरै फर्कौं । तपाईंले खेल्दाका र अहिले हेर्दाका नेपाली फिल्मबीच केही फरक देख्नुहुन्छ ?
खासै भिन्नता मैले पाएकी छैन । प्रविधिले गर्दा सबै चिज डिजिटलाइज्ड भएको छ, फरक यत्ति हो तर ओभरल फिल्मको कुरा गर्ने हो भने अहिलेका भन्दा धेरै राम्रा फिल्म पहिला थिए । अहिलेका कतिपय फिल्ममा त स्टोरी नै भेटिँदैन । खाली टिनएजरलाई टार्गेट गरेर मात्रै फिल्म बनाउनुहुँदैन । फिल्मलाई सबैले मनपराउने हुनुपर्छ । म्यासेज दिने मुभी पनि बन्नुपर्छ । दर्शकमाझ चेतना जगाउने फिल्म पनि बन्नुपर्छ, खेल्नुपर्छ । त्यस्ता चलचित्र पहिला बन्थे, अहिले बनेजस्तो लाग्दैन । राम्रो–राम्रो लोकेसनमा लगेर डान्स गराउँदैमा फिल्म राम्रो हुँदैन । यो नयाँ फिल्ममेकर्सले बुझ्नुपर्ने कुरा हो ।

नेपाली फिल्मले लामो समय हिरोइनलाई हिरोको वरिपरि नाच्ने वस्तुमात्रै सम्झियो । सामान्यतः हिरोइनको चरित्र चित्रण हिरोको तुलनामा सधैँ कमजोर भयो र अहिले पनि छ भन्ने विषयमा कहिलेकाहीँ बहस हुने गर्छ । यसमा तपाईंको राय के छ ?
यो भन्नुको अर्थ नारीप्रधान फिल्म कम बने भन्न खोज्नुभएको होला । यसमाने म लक्की थिएँ, किनभने मैले धेरै नारीप्रधान फिल्म गर्न पाएँ ।  मेरो बेलामा हिरोको नामले मात्रै पनि फिल्म चल्ने अवस्था थियो । लेडिजलाई सोपिस बनाइएको आरोप पूरै गलत होइन तर यति भन्दैमा फिल्म बनाइसकेपछि यो महिला या पुरुषको भनेर छुट्ट्याउनु पनि मलाई त्यति ठीक लाग्दैन । यार, पूरा फिल्म चेतना जगाउने खालको छ भने म त्यो फिल्ममा एउटा सिन मात्रै पाएँ भने पनि खेल्छु । आएर कपाल मात्रै हल्लाएर जाने सिन छ भने पनि गर्छु । अर्को कुरा, हामी नारी–पुरुष, नारी–पुरुष भन्छौ तर यहाँ पुरुषको कति नै विकास भा’को छ र, पुरुषप्रधान फिल्म बन्नै नहुने !

आफैँलाई सन्तुष्टि दिलाएका आफ्ना पाँच सिनेमाको नाम लिनुपर्यो भने ?
‘तँ त साह्रै बिग्रिस नि बद्री’ मैले नबिर्सिने फिल्म हो । यही फिल्मबाट म हिरोइनबाट कलाकारको रुपमा स्थापित भएँ । फिल्ममा पहिलोपल्ट नेगेटिभ रोलमा अभिनय गरे पनि सबैले रुचाएका थिए । ‘माइली’ फिल्मले पनि मलाई सन्तुष्टि दियो । फिल्मले धनी–गरिब बीचको वर्ग समस्यालाई उठान गरेको थियो, चेतनामूलक थियो । त्यस्तै ‘मुस्कान’ फिल्ममा मैले एकदमै सशक्त अभिनय गर्ने कोसिस गरेको थिएँ । हुन त, मलाई आफ्नो फिल्म हेर्दा, अभिनय देखेर सधैँ हाँस उठ्छ । किनभने म आफ्नो कमजोरी आफैँ ठम्याउने कलाकार हुँ तर पनि म ‘मुस्कान’ हेर्दा आफैँ रोएकी थिएँ । सुटिङ गर्दा पनि पटकपटक इमोसनल भएकी थिएँ । चौथोमा ‘सगुन’ फिल्मलाई सम्झिन्छु । शिव दाई (श्रेष्ठ)सँग एउटा मात्रै गीत ‘दमकल बोलाइदेऊ’मा नाचेकी थिएँ तर सुपरहिट भयो । त्यस्तै सामाजिक कथामा बनेको ‘अनाथ’फिल्मबाट पनि म सन्तुष्ट छु ।

संख्याका हिसाबले सम्भवतः तपाईंले सबैभन्दा बढी फिल्म राजेश हमालसँग खेल्नुभयो र आज उहाँ नेपाली फिल्मको ‘महानायक’ भनेर चिनिनुहुन्छ । कहिलकाहीँ अभिनय छाडेर आफू पछाडि परियो भन्ने लाग्दैन ?
अहँ, त्यस्तो त लाग्दैन । मैले राजेशसँग धेरै चलचित्रमा काम गरे पनि उहाँ मभन्दा सिनियर कलाकार हो । उहाँ त कृष्टि मैनालीको पालाको हो तर उहाँ लगातार सफल हुनुभयो, लकले पनि फेभर ग¥यो । त्यसो त मलाई पनि फेभर नगरेको होइन । फेरि उहाँसँग मेरो तुलना गर्न मिल्दैन । उहाँ धेरै आदरणीय हो । अर्को कुरा, मेरो प्रतिस्पर्धी सधैँ म आफैँ हो । मेरो लेभलको मान्छे पनि म नै हो, अर्को हुन सक्दैन । यसको अर्थ, मैले अरुलाई अपमान गर्न खोजेको होइन, सबैको आ–आफ्नै मान्यता र महŒव हुन्छ । अर्को यो ‘महानायक’को टाइटलमा भने म कन्फ्यूज्ड छु । राजेश दाइ पनि महानायक रे, भुवन दाइ पनि महानायक रे ! त्यसो भए शिव दाई (श्रेष्ठ) के नि ? उहाँ पनि त्यो बेलादेखि अहिलेसम्म निरन्तर लागिरहनुभएको छ । किन, कसरी, के हिसाबले यो महानायक भनिएको हो भन्नेमा म कन्फ्यूज्ड छु । कसैले चित्तबुझ्दो जवाफ पनि दिएको छैन । अर्को कुरा, महानायक उहाँ हो भने महानायिका खोइ त ?

म त्यही सोध्न खोज्दैछु । नेपाली फिल्ममा किन हुन सकेन त महानायिकाको जन्म ?
किन भनिएन त ? म पनि त्यही सोध्दैछु । कसले बनाको हो महानायक ? पुरुषले ? त्यसोभए महानायिका पनि बनाउनुप¥यो नि !

महानायिका बनाउनुपर्यो भने कसलाई बनाउँदा उपयुक्त होला ?
मेरो हिसाबमा त वन एन वन्ली करिश्मा मानन्धर । सुन्दर हुनुहुन्छ, सदाबहार हुनुहुन्छ । काम पनि धेरै गर्नुभएको छ । निरन्तर सक्रिय हुनुहुन्छ । त्यतिबेला विविध कारणले पढ्न सक्नुभएन, अहिले स्कुल पढ्दै हुनुहुन्छ । धेरेका लागि प्रेरणा पनि बन्नुभएको छ ।

जसको फिल्म धेरै, उसलाई महानायक/महानायिका बनाउने हो र ?
त्यो त होइन तर उहाँले चेतना जगाउने काम पनि गर्नुभयो । अब अभिनयको हिसाबले मात्रै बनाउने हो भने गौरी मल्लको विकल्प छैन । म त के भन्छु भने खासमा यो महानायक-महानायिका भन्ने किचलो नै नगरौं, बरु आ–आफ्नो काममा ध्यान दिऔं ।

जतिबेला तपाईं राजेश हमालसँग पहिलो फिल्म ‘शंकर’ गर्दै हुनुहुन्थ्यो, त्यतिबेला उहाँसँग तपाईंको जोडी नसुहाउने टिप्पणी व्यापक भएको थियो । तर अचम्म, त्यसपछि सबैभन्दा बढी फिल्ममा काम तपाईंको उहाँसँगै भयो है ?
सही कुरा । सुरुमा विपना सानी छे, जोडी सुहाउँदैन भन्थे । पछि फिल्म हिट भइदियो । मेरा लागि मात्रै होइन, राजेश दाइका लागि त झन् बढी महŒवको भइदियो । आज पनि उहाँलाई देख्नासाथ धेरै दर्शकले  ‘शंकर हुँ म शंकर’ भन्ने डाइलग सम्झन्छन् ।

सुटिङका क्रममा ‘शंकर’ खेल्दा तपाईं राजेशजीसँग डराउनुभएको थियो रे !
डराएकी त थिइनँ तर एउटा रमाइलो अनुभव भने भएको थियो । पुजा दि (चन्द), करिश्मा दि (मानन्धर)सँग उहाँले धेरै काम गर्नुभएको थियो । मैले उहाँहरुबाट राजेशजी ‘अनलिमिटेड प्रोफेसनल’ हुनुहुन्छ भन्ने सुनेकी थिएँ । सुटिङका क्रममा एउटा सिन थियो– हिरो र हिरोइन दुई तिरबाट दौडेर आउने अनि राजेश दाइले कम्मरमा समातेर मलाई घुमाउने । म त्यो सिन पटकपटक म दौडेर आउँथेँ अनि सिन पूरा नभई बीचैमा उभ्भिन्थेँ । निर्देशकले गाली गरे । वान–टु टेकमै ओके गर्ने म त्यो दिन थुप्रै टेक खाइरहेकी थिएँ । त्यस्तो देखेपछि राजेश दाइले सोध्नुभयो– तपाईंलाई केही प्रोब्लम ? मैले भनेँ, ‘मैले सुनेको हजुरले हिरोइनलाई उचालेर घुमाउने अनि कट भनेपछि फुत्त छोडिदिने गर्नुहुन्छ रे ! त्यसैले मलाई डर लागेर असहज भएको हो ।’ त्यसपछि उहाँले मुसुक्कै हाँस्दै भन्नुभयो, ‘ए, हो ? अब गर्दिनँ ।’ त्यसपछि पनि एकपल्ट फेरि टेक खाएपछि सिन ओके भयो । निर्देशकले ‘कट’ भने ‘नेक्स्ट सट’ भनिसक्दा पनि राजेशजीले मलाई समातेको समात्यै हुनुहुन्थ्यो, छोड्नुभएको थिएन । कट भइसक्यो किन नछाडेको भनेर क्यामेराम्यानले सोध्दा उहाँले भन्नुभयो, ‘होइन, उहाँले मलाई नछोड्नु भन्नुभाको छ, त्यसैले छोड्दिनँ ।’ माहोल हाँसोमय भयो ।

यो ग्ल्यामर क्षेत्रको चित्तदुख्ने कुरा के लाग्छ ?
यहाँ हिरो–हिरोइन धेरै हाइलाइट हुुन्छन् तर विडम्बना टेक्निसियनको स्थिति सधैँ गएगुज्रेको पाएँ । यहाँ धेरै टेक्निसियनहरु हेपिएका छन् । लाइटम्यान, मेकअप आर्टिस्ट, स्पट ब्वाईलगायत प्राविधिकको लेभल सधैँ कमजोर भयो । बढाउने कोसिस पनि गरिएन । उनीहरुलाई कसैले ध्यान दिएन । यो विषयमा मलाई हिजो पनि चित्त दुख्थ्यो, आज पनि । म पहिल्यैदेखि प्राविधिकहरुसँग नजिक हुन्थेँ, त्यसैले मलाई दुःख लाग्थ्यो । उनीहरुको लाइफ साँच्चै राम्रो छैन । कलाकार, निर्देशकलाई माथि पुर्याउन उनीहरु सधैँ लागे, तर उनीहरु भने सधैँ तलको तल ।

अहिलेको नयाँ कलाकारहरुमा तपाईंलाई मनपर्ने को हुन् ?
अनमोल केसी राम्रो कलाकार हो तर म उसलाई सुपरस्टार भन्न चाहन्नँ । ऊ राइजिङ स्टार हो । १०–१५ फिल्म खेल्यो भन्दैमा सुपरस्टार भनिहाल्नु हुँदैन । त्यस्तै प्रदिप खड्का पनि राम्रो लाग्छ…।

अनमोललाई अहिले नै सुपरस्टार भन्न किन नहुने ?
अहिले नै सुपरस्टार भनेर उनीहरुको काममा फुलस्टप लाउनु हुुन्न भन्ने मेरो मान्यता हो । ऊ स्टार हो, सुपरस्टार होइन । भविष्य बोकेको कलाकार हो । त्यस्तै मलाई प्रियंका कार्की, साम्राज्ञी राज्य लक्ष्मी शाह पनि मनपर्छन् ।

धेरैथोक भोगिसकेपछि तपाईंको विचारमा जिन्दगी के रहेछ ?
बाल्यकाल, बिहेअघि, बिहेपछिका सबै अनुभव भोगिसकेपछि मलाई लाग्छ– जिन्दगी भनेको संघर्ष, सम्झौता र समझदारीको मिश्रण हो । शुक्रबार सप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्