Logo

समाज धनीहरुको गरिबी र दरिद्रताले ग्रसित छ


बागबजार, धेरै जसो समय यहि बित्छ । साथीभाइ, नेता , कार्यकर्ता सबै एकै ठाउँ भेला हुन्छन । रमाइलो लाग्छ। समय बितेको पत्तै हुन्न! कता हो? कमरेड भनेर सोध्नेहरुलाई म सिधा यहि उत्तर दिने गर्छु  -आउनुस न भेटम यहि छु हार्दिकमा ।

होटल हार्दिक सबै जसो नेता कार्यकर्ताहरुको लागि भेटघाट गर्ने जक्सन नै भएको छ । संचालक र होटेल म्यानेजर दुबै मिलनसार भएकाले भेटघाट का निमित्त यहाँ अलि सजिलो छ अरू ठाउँभन्दा । जसलार्इ जति समय बस्न पनि मिल्छ। पानी पनि नि:शुल्क साथमा इन्टरनेटका लागि वार्इफार्इ सित्तैमा । बडो गज्जबको! यहाँ एक कप चिया पिउने हो भने ५० रुपैयाँ गाेजीमा हुनुपर्छ । कहिले काहीँ कसैले पिलाए , पिइदिन्छु । ‘मीठो छ , गुलियो!’ प्रतिक्रियाका साथ ।

आजकाल केही मैले चिनेका अग्रजहरु चिया अफर गर्ने हैसियतमा पुगेका छन। कहिलेकाही अफर गर्छ्न । जीवनमा आउने परिवर्तनको क्रान्तिकारी छलाङहरु कस्तो हुने रहेछ भन्ने यहाँ बसेर अध्ययन गर्छु ।धेरै समय वर्ग उत्थानका लागि लडेका क्रान्तिकारी कम्रेडहरु के उत्थान गर्दैछन? कस्तो गर्दैछन? अन्योलमा पर्छु र सिधा फुलबारी कफी सप तिर लाग्छु ।

‘फुलबारी कफि सप’ न कुनै फुल फुल्छ न कफि नै बन्छ।यो सप सिन्धुपाल्चोक घर भएका एक भुपु नेपाली सैनिकको हो । उहाँकाे राम्रो आम्दानी हुन्छ, कफी सपमा । अग्ला र जोशिला देखिने यी बुढा पनि हामीसँग गफिन र समय बिताउन रामाउछन् ।

बागबजारका लगभग सबै ज्यालादारीहरु यहाँ खाजा खान पुग्छन । एक कप चिया १५ रुपैयाँ मा पाइन्छ। म पनि धेरै जसो यहीँ पिउने गर्छु ।यो कफी सपमा म धेरै श्रमिकहरुको दैनिकी नियाल्ने गर्छु । ज्यालादारी गरेर जीवन चलाउने धेरै भेटिन्छन । अाफ्ना अागाडीका यी दृष्यहरूले लाग्छ ‘ज्याला मजदुरी सन १७६० देखि हाल सम्म यथावत छ’। यिनै मजदुरहरुको बल जगमा सन १८३० मा औधोगिक क्रान्ति भएको थियो। जो ठुलो क्रान्तिकारी आन्दोलन हो, र यसैका मार्फत हामी यहाँ अाइपुग्याैं ।

यहाँ हरेक ज्यालादारीहरु अभावलार्इ लुकाउदै  कम्युनिस्ट पार्टीको अझै बहुमत र ठूलाे गठबन्धनकाे सरकार छ। अब,मुक्ति मिल्छ देश विकास हुन्छ भनेर आशावादी भएका छन। ती मध्ये धेरै जसाे पहिले क्रान्तिकारी थिए ।

म लगायत मेरा अन्य साथीहरू कमरेड दिपुकर र कमरेड सुरेश, लगायत हामी सन १८४८ को मार्क्सवादको सिद्धांतमा छलफल गर्ने गर्छौ र  यसको सान्दर्भिकता अझै धेरै छ भन्ने निचोड मा पुगेका छौँ । अहिले हामी सन २०१८ मा छौं । तर कुरा धेरै पहिलेको, कफी सपमा आउने मानिसहरु हाम्रा कुरा सुनेर छक्क परेको देख्छु । २५ बर्ष पहिले पार्टीले ल्याएको नीति तथा कार्यक्रम “जनताको बहुदलीय जनवाद” को अर्ध-सामन्तवाद र अर्ध-उपनिवेशवाद भित्र बनेका नीति तथा कार्यक्रमको च्याप्टर क्लोज भएको कुरालाई हामी आत्मसात गरेका छौँ र नयाँ च्याप्टर ओपन गर्नुपर्छ अब भन्ने कुराको छलफलमा  छौँ ।

समाज र यसकाे चरित्र हिजो कस्तो थियो?आज कस्तो छ? र अब कस्तो बनाउने हो भन्ने कुराको त्यति धेरै कुराकानी,बहस र छलफल भने  हुन सकेको छैन । अहिले धेरै जसो नेताहरु समाजको परिभाषा र अस्तित्वलाइ त्यति धेरै महत्त्व दिदैनन । तर समाज बदल्नु पर्छ भन्ने भाषण भने गरिरहन्छन्। यी दुखी आत्माहरु प्रती मेरो हार्दिक श्रद्धाञ्जलि ! यिनले परिवर्तनको “प” पनि गर्न सक्दैनन् । इन्टरनेटको दुनियाँ छ , सबै जसो नीति तथा कार्यक्रमहरु फेसबुकबाट नै सार्वजनिक हुने गर्छन् । आर्थिक रुपमा पारदर्शी हुन खोज्या होला त्यही भएर सभा, गोष्ठी र कार्यक्रमहरु नभएका हाेलान् । यो पनि राम्रै छ, किनकी समाज बद्लिएको छ!

मन्त्री, नेताहरुले आफ्ना पार्टीका सदस्यहरुलार्इ नचिन्ने कुरालाई म त्यति धेरै अर्थपूर्ण मान्दिन । म आफै दलित विद्यार्थी जो कम्युनिस्ट पार्टीप्रती आस्थवान छन त्यो कमिटीको अध्यक्ष छु तर मलाइ केन्द्रिय अध्यक्षले नचिनेको हुन सक्छ। किनकी मैले फेसबुकमा लेखेको छैन , सम्प्रेषण गरेको पनि छैन । यस्ता धेरै होलान्। तर बिचलित छैन, ढुक्क छु समाजवादी हुने कुरामा। पार्टीले पनि त्यहि(समाजवाद) उन्मुख भनेको छ र संविधान ले पनि । समाज दलाल पुँजीपतीहरुको चरित्रबाट ग्रसित छ। पार्टीहरु पनि । यिनिहरुको अन्त्य पनि यहि पुँजीवादी नीतिहरु आफै हुन भन्ने बुझेको छु। तसर्थ त्यति आत्तिएको छैन। यी सबै पराजित पक्का हुनेछ्न । एकदिन नेपाल टेलीभिजनकाे एक कार्यक्रममा जनवादी गायक कम्रेड जीवन शर्मालाई हेर्ने मौका पाए । उहाँ भन्नुहुन्छ, “म यस मानेमा धनी छु किनकी म सग धन छैन , धन बिनाको धनी ! समाज धनिहरुको गरिबी र दरिद्रताले ग्रसित छ।” बडो अर्थपूर्ण लाग्यो र सलाम गरे कम्रेड शर्मालाई ।

आजकाल म दर्शन बुझ्ने जमर्को गर्दैछु । प्रकृति , जीवन , समाज र चिन्तन यी चार कुराले बनेका छन दर्शनहरु , मार्क्सवाद पनि त्यही मध्येको एक हो । समाजको अस्तित्वलाई केही खोज्दै र बुझ्दै परिवर्तनको लागि हिड्ने कोसिसमा छु । यात्रा निरन्तर छ , कल्पित साम्यवाद तर्फ !!

लेखक अनेरास्ववियुका नेता हुन्।

प्रतिक्रिया दिनुहोस्