Logo

रहर र बाध्यताको खेल


आफूले साचेका रंगीचंगी सपनाहरु गर्भमै तुहाउन कसलाई रहर हुन्छ र रु अहँ, कसैको पनि त्यो चाहना हुँदैन कि उसले आफ्नो स्वप्निल सप्तरंगी संसारलार्इ वास्तविक बनाउने बाटोमा काँडेतार लगाएर आफ्नो इच्छा विपरितको बाटोमा मोडिन परोस् । हर कोहिको चाहना हुन्छ कि आफुले रोजेको, मनले चाहेको क्षेत्रमा अघि बढेर आफ्नो सुखी र सुन्दर भविस्य बनाउने । तर आफुले कल्पना गरेर बन्द आँखाले देखेका ती सबैका सपनाहरु पुरा हुँदैनन् । कसैका सपना पुरा हुन्छन् त कसैका सपना सपनामै सिमित रहन्छन् । कसैको जीवन आफुले कल्पना गरेको भन्दापनि बढी राम्रो हुन्छ त कसैको आफुले सोचेको भन्दा ठिक उल्टो । किनकि आँखा बन्द गरेर मनले कल्पना गरेको संसार र खुल्ला आँखाले देखिने वास्तविक संसारमा धेरै नै भिन्नता छ ।

कसैका सपना असफलताको डरले बीचमै चुँडिएका हुन्छन् त कसैका रहरमाथि हावी हुने बाध्यताले । यहाँ कैयौं मानिसहरु छन् , जसले अरुको खुसीको लागि आफ्ना रहर र चाहनाको तिलान्जली दिएका छन् । धेरै कारण र तत्वहरु छन् जसले गर्दा मानिसहरुले आफुले रोजेको बाटो छोडेर अन्तै मोडिन विवश हुनुपरेको छ । अनेकौं बाध्यता र परिस्थितिको जालझेलमा अल्झेर बस्नेहरु कयौं संख्यामा छन् ।

हुन त खुशी र सुखी जीवनको चाहना नहुने व्यक्ति सायदै होलान् तर ती सबै सपना सार्थक बनाउने प्रतिभा भने सबैसँग हुँदैन । जुन मानिससँग जीवनमा केहि गर्ने इर्स्या र प्रतिभा हुन्छ तिनै व्यक्ति धेरै सफल हुन्छन् । तर यसको मतलब यो होइन कि आफुसँग प्रतिभा नहुनेहरु सफल नै हुँदैनन् । सफल हुन्छन तर अरुको तुलनामा केही थोरै मात्रामा मात्र ।

प्रतिभा हुनेहरु पनि सबैले सफलताको शिखर चुम्न सक्दैनन् । त्यसका लागि पनि धेरै कुराको तालमेल मिल्नुपर्छ । यहाँ कयौं व्यक्तिहरु छन् जसमा केही न केही प्रतिभा हुँदाहुँदै पनि अनेकथरी बाध्यता, परिस्थिति र समस्याले गर्दा अगाडी बढ्न सकिरहेका छैनन् । कसैको पारिवारिक समस्या हुन्छन्र त कसैको आर्थिक स्थिति कमजोरी भएर या कुनै अन्य ।

यस्तै कारणले बाध्यता र परिस्थितिको जालझेलमा पर्ने हजारौको भिडमा ती व्यक्तिहरु पनि हुन्छन् जसले आफ्ना परिवारकै लागि मात्र पनि आफ्ना सपना र चाहनाहरुलाई लिलामी लगाएका हुन्छन् । आफ्नै केहि गर्ने उद्देश्य र सपना हुदाहुदै पनि आफ्नो आमाबुवा र परिवारको खुसीका निम्ति आफ्नो लक्ष्यमा चद्दने सिढीलाई भत्काइरहेका हुन्छन् । यस्ता किसीमका बाध्यता र समस्या प्रायः निम्न र मध्यम वर्गीय परिवारमा हुन्छन् ।

प्रायः यी परिवारमा एकदुई जनाको कमाइले सिंगै परिवारले जीविकोपार्जन गर्नुपर्ने हुन्छ । त्यसैकारण पनि हरेक सन्तानले आमाबुवाले खाइनखाई गरेर उनीहरु माथि गरेको लगानीको यो समाज र परिवारको अगाडी जसरी भए पनि सदुपयोग गरेर देखाउनेपर्ने हुन्छ । त्यसको लागि सबैभन्दा गतिलो उपाय हुन्छ । जतिसक्दो चाँडो जागिर खाएर आमाबुवालाई खुशी राख्दै घरपरिवारलाई पाल्नु पर्ने । जस्तै एउटा उदाहरण मानी लिउँ कि, कुनै निम्न र मध्यम परिवारको व्यक्तिको लक्ष्य लेखक बन्ने छ भने त्यो व्यक्तिलाई उसको परिवारबाट शतप्रतिशत साथ र सहयोग कमै मात्रामा मात्र मिल्छ । प्रायः थोरै मात्रै मानिस हुन्छन् जसले यस्तो क्षेत्रमा लाग्न खोज्दा आफ्नो परिवारबाट साथ र सहयोग पाउँछन् । ती आमाबुवाको चाहना हुन्छ कि आफ्नो सन्तान लेखक होइन एउटा सरकारी जागीरे बनोस् भनेर ।

किनकि उहाँहरुको बुझाइ रहेको हुन्छ कि, जुन सुख र खुशी एउटा सन्तानले सरकारी जागीर खाएर प्राप्त गर्न सक्छ, त्यो सुख उसले एउटा लेखक भएर पाउन सक्दैन । नबुझुन् पनि कसरी रु अरुको असफलताको स्वाद चाख्न तत्पर रहने समाज हाम्रो जो छ । आफ्नो सन्तान पास भएको भन्दा छिमेकीको सन्तान फेल भएकोमा रमाउने हाम्रो समाज छ ।

यो कुरामा घरपरिवार आफ्नो ठाउँमा शतप्रतिशत सहि हुन्छन् । आफ्नो दुनियाँको लागि त्यो मान्छे जस्तोसुकै किन नहोस् तर, संसारको कोही पनि आमाबुवा चाहदैनन् कि उसको सन्तानको भविष्य अन्धकार तर्फ मोडियोस भनेर । आफ्नो सन्तानको उज्वल भविष्यको लागि भनेर नै उहाँहरुले आफूले खाइ नखाई गरेको जिन्दगीभरको कमाई त्यहि सन्तान माथि लागनी लगाएका हुन्छन् । अनि कसैको पनि छोराछोरी चाहदैनन् कि, उनीहरुको आमाबुवाले आफूमाथि गरेको लगानी आफ्नै कारणले गर्दा पानीमा मिलोस् भनेर ।

हरेक सन्तानको कर्तव्य अनि दायित्व बन्छ कि उसले पनि यो समाजको अगाडी केहि राम्रो काम गरेर आफ्नो र आफ्नो घरपरिवारको नाम उच्च राख्ने प्रयत्न गरोस् । र सबै सन्तानहरुको चाहना पनि यहि नै हुन्छ कि आफ्नो कारणले गर्दा आफ्नो घरपरिवारको र्इज्जत माथि कुनै आँच नआओस ।

त्यसैकारण आफ्ना चाहना र सपना सबै मनभित्रकै बाकसमा थुनेर, यो समाजको अगाडी आफ्नो घरपरिवारको शिर नझुकियोस् भनेर आमाबुवाको खुसीका लागि भएपनि उहाँहरुले नै रोजेको बाटोमा विवश भएर हिड्ने महान् सन्तानहरुको संख्या धेरै नै छ । सलाम छ ती महान् सन्तानहरुलाई जसले आफ्ना फुल्नै नपाएका सपना र चाहनालाई कोपिलामै चुँडेर आफ्नो परिवारको खुशीको गोरेटोमा हिँडिरहेका छन् । यस्तै यस्तै रहर र बाध्यताको खेलमा कहिले बाध्यताको जित हुन्छ त कहिले रहरको ।

-जीवन खड्का
थालारा ८ , बझाङ
हाल: काठमाडौँ

प्रतिक्रिया दिनुहोस्