Logo

सडकमा भेटिएकी आमा


निर केसी/हरेक बिहानी आउनको लागि साझ त अबश्य पर्न नै पर्छ ।जब बिहानीको सुरुवात हुन्छ ,अनि सुर्यले आफ्ना किरणहरुलाई खुशिले छर्किएर धर्तिसम्म पुग्नेगरी फाल्दछ ।त्यही किरण धर्तिसम्म आइपुग्दा भतक्क पोल्ने घाम बनेर आइदिन्छ ,मान्छेको मन न त हो,परिवर्तन हुन केही बेर लाग्दैन । क्षणभरमै मन परिवर्तन भएर बज्याको आँखा नि कति टल्किएर पोलेको भनी सराप्न थाल्दछ । हो ,त्यस्तै मन छ , मान्छेको जबसम्म आफुलाई आबश्यकता पर्द्छ ,त्यति बेलासम्म खुब खास ठान्छन अनि जब त्यसको अस्तित्व घट्दै जान्छ ,तब हजारौं नकारात्मक प्रतिक्रियाहरु दिन्छन् ।त्यसैले होला रातमा देखिने ताराहरुलाई भन्दा जुनलाइ महत्व दिन्छ मान्छे । स्वार्थी छ।

हजारौं मनहरुको सपनाको सहर हो काठमाडौ । नढाटी भन्नुपर्दा मेरा लागि पनि खास छ । जब म काठमाडौ भित्रीए हजारौं सपनाहरू बोकेर उच्च शिक्षा हासिल गर्न ।त्यही शिलशिलामा म पनि उच्च शिक्षा हाशिल गर्न भर्ना भए र अध्ययनरत छु ।

हो , खासमा मेरा लागि केही भिन्न थियो सहर । साच्चै सहर सहर नै थियो । म हरेक दिन ११ बजे कलेजबाट पढेर डेरातर्फ आउने गर्छु ।मलाई साच्चै आश लाग्छ कलेजको छुट्टि १०:२५ बजेदेखि डेरामा आउने समय ११:०० बजे। हुन त संसार एउटा मात्र हो तर पनि सोचाइ र भोगाइ अनुसार एउटै मान्छेले हजारौं संसारको कल्पना गर्दछ । त्यस्तै संसार मेरो मनभित्र पनि दिनदिनै नयाँनयाँ कल्पना हुन्छ। मलाई म हिड्ने हरेक बाटाहरुमा आश लाग्छ । म ती मेरा बाटाहरुमा अरुको पनि संसार देखिरहेको हुन्छु ।यसरी नै यात्रा गर्ने क्रममा मेरो आँखा यस्तो दृश्यमा ठोकिन पुग्यो , जुन दृश्य मैले आजसम्म देखेको दृश्यभन्दा नितान्त फरक थियो । मेरा आँखाहरु ,मन, सबै त्यही बस्तुमा केन्द्रित भयो ।जुन दृश्य र मेरो दुरि सुरुमा करिब २०-२५ मिटर जति थियो तर केही क्षणमै त्यो दुरि घटेर कुमकुम ठोक्किन पुग्यो।।

खै , कसरी बर्णन गरुँ त्यो दृश्यको । मसग कुनै शब्द नै छैन ।हेर्दा त्यस्तै १९/२० बर्षकी जस्तो देखिने एक मधेसी महिला साथमा त्यस्तै ३।४ बर्षको बच्चा पनी । जुन दृश्यले मेरो ध्यान यति केन्द्रीत गर्यो त्यो शब्दमा ब्यक्त गर्न सक्दिन । टाउकामाथी करिब २०/२५ किलो जति देखिने फोहोरको बोरा,एउटा हातले छोरा , फेरि अर्को हातले बोरा । खाली खुट्टा ,च्यात्तिएको फरिया , सारङ्गी जस्तो खोक्रो पेट,डाडु झैँ गडेका आखामा पोतिएका गाजल , करिब दुई इन्च लामो सिन्दुरको रेखा , सुकेका हातखुट्टा ,फुटेका कुर्कुचा त्यही पनि मेहेन्दि पोतिएको थियो । शरीर करिब ४०/४२ किलोको । उनि आफ्नै सुरमा हिडिरहेकि थिइन । एउटा हातले बोरा , अर्को हातले साथमा भएको बच्चा समातेर । बच्चाको स्थिति पनि उस्तै थियो । यदि सम्पन्न परिवारकी नारी हुन्थिन भने उनको रुप स्वर्गकी अप्सराको भन्दा कम छैन । साथमा भएको बालक कुनै राजकुमार भन्दा कम हुदैन्थ्यो । तर त्यो मैले उनमा पाउन सकिन। मैले उनमा पाए त भोको पेट,बाच्नका लागि सङ्घर्ष र गरिबिको सिङ्गो पीडा। बालकको खुट्टामा भएको चप्पल करिब उसको उचाई जति नै थियो । मेरो मन नबोली बस्नै मानेन , मैले सोधे ‘ सानो मान्छेले मामुको चप्पल लगाएको ।’ आमाले जबाफ दिइनञ होझ । स्वरमा करुणा भरिएको थियो , उनको त्यो स्वरले मन पोलेर आयो।

अनि एक्कासि झल्यास्स गाउँ को याद आयो । फेरि एकपटक आफ्नी आमालाई झलक्क सम्झिए। मेरि आमाको स्थिति पनि त उहीँ छ। मलाई सहरमा पढाएर , मेरै लागि आधा पेट खाएर , पहाडका ढुङ्गाहरुसग मीत लगाउदै भोक , तिर्खा , थकान केही नभनी सकिनसकी उकाली ओराली गर्दैछिन ।।।

प्रतिक्रिया दिनुहोस्